फ्रम ट्वेल्भ हन्ड्रेड मिटर्स टु थ्रि थाउजेन्ड नाइन हन्ड्रेड मिटर्स इन टु डेज : अ ट्राभलग !

नेपालको राजधानी शहर काठमान्डु र यहांको जीवनको बारेमा थाहा पाउन कसैले त्यति धेरै चर्चा गरिरहनु नपर्ला । मलाई व्यक्तिगत रुपमा यो खाल्टोको बसाई एकदमै निस्सास र निरस लाग्छ । लगातार १ वर्ष यो खाल्टोमा बसेको यो नै पहिलो पटक हो मेरो । जागीरको सिलसिलामा । भनेको समयमा विदा नपाइने र करिव-करिव कुनै कुनामा एक्लै जस्तो बसिने हुनाले पनि भेटघाट अन्यत्र जस्ताे त्यति सजिलै नहुने रहेछ ।
अङ्ग्रेजीमा एउटा भनाई छ When everyday life is getting you down, it’s time for an adventure !
हामीलाई पनि त्यस्तै मन भयो । जीवन एकनासको निरस र पट्यारलाग्दो भयो भने ह्वाई नट ट्राइ सम एडभेन्चर ?
यही सेरोफेरोमा अचानक एउटा प्लान बन्यो । निकै आकर्षक । अहिले ट्रेन्डिङ्ग भइरहेको ठाउं , कालिन्चोक । जुन ठाउंको सेताम्मे हिउं परेको, हिमालले घेरिएका फोटाहरुले पोहोर साल नै मेराे मन तानिसकेको थियो । हामी सुरुमा यस्तै छ सात जना जाने भन्ने योजना बनायौं । र जाने दिन नजिकिंदै अझ भनौं घट्दै जांदा जाने सम्भावित मान्छेहरु को संख्या पनि घट्दै गयो । कसैको घरायसी काम, कसैको निर्वाचनमा खटिएकाले जान नपाउने अवस्था भए पछि अन्तिममा हामी ३ जना मात्र भयौं, जान तयार । इश्वर दाई, प्रेम दाई र म । हामी दुई जना इश्वर दाई र म भने दुई जना मात्रै भए पनि जानु पर्छ भन्नेमा पुगेका थियौं ।
कालिन्चाेक पानाराेमा

१६ गते शनिबार, यात्रा सुरु भयो कोटेश्वरबाट । साथीहरु कोटेश्वर पुगी सक्दा म भने बल्ल हिंडेको थिएं घरबाट । साथीहरु रिसाउने पक्कापक्की जस्तै थियो । त्यसैले त्यहां सम्म पुग्दा गाडीको व्यवस्था गरी सम्भावित डायलग (गाली?) खानबाट जोगिन चाहन्थें म । त्यसैले मैले सम्पर्कमा भएको एउटा गाडी भनेका थिएं, जीप खालको । बाटो अलि अप्ठ्यारो भएकोले । मैले गाडी व्यवस्था गर्न तिर लागेर ढिलो भएको भनेपछि साथीहरुमा अपेक्षित रिस देखिएन । मन भित्र ढुक्कको सास आयो । ( तर प्रेम सरको भने एक दुई थान अलि कडा मिजासका धम्किपूर्ण डायलग फोनमा नै प्राप्त भईसकेकोले थप भने खाइएन ) । करिव २ घन्टा कुर्दा पनि गाडी अझै नआएको हुनाले कुर्दा कुर्दा आत्तिएका हामी विकल्प खोज्न तिर लाग्यौं । र भेटिए एक अत्यन्त मधुर मिजासका ट्याक्सी चालक, कुमार दाई । भूपू नेपाली सेनाका चालक । घर दोलखा चरिकोट । सबै ठाउं चिनेका र हामीलाई गाइडको रुपमा समेत काम लाग्न सक्ने मान्छे भेटिएकोमा हामीलाई खुसी लाग्नु स्वभाविक थियो । अझ खुसी त दुई घन्टाको कुराईको पूर्णविराम लागेकोमा थियो त्यस बेला हामीलाई । र हामी हिंड्यौं । धुलिखेलमा केही समय ब्रेक । अनि हामीलाई दोवाटोले अलि अलमल पार्याे । कुन बाटो रोज्ने भनेर । दोलालघाट खाडीचौरको कच्चि तर छोटो बाटो कि सिन्धुली मन्थली हुंदै दोलखाको पक्की तर लामो बाटो । कुमार दाइको नयां ट्याक्सी त्यस माथी ५० किलोमिटर भन्दा वढी बन्दै गरेको कच्चि बाटो । दाईको सुझाव पक्कि बाटो जानु उपयुक्त । हामी पनि बर्दिबास सिन्धुलीको आकर्षक हाइवे र अहिलेसम्म नपुगेको रामेछाप जिल्ला हुंदै जाने भनेपछि लामै बाटो ठिक लाग्यो । र त्यसै ग¥र्यौं ।
बाटोमा रमाइला गफ अनि सुन्तला । तर सुन्ताला भन्दा गफ नै मिठा । सुन्तला अमिला परेछन् । सुनकोशी किनारै किनार हामी अगाडी बढ्यौं । हाम्रो योजना सिन्धुली रामेछाप सिमानामा पर्ने खुर्कोट बजारमा त्यही नदीको माछा र खाना खाने थियो तर योजना बाटैमा स्थगित गरी करिव १५ किलोमिटर अगाडी झांगझेली भन्ने ठाउंमा हामीले करिव १ बजे खाना खायौं । ठाउं फरक भए पनि खाना भने योजना अनुसार नै । बिहान करिव ९ बजे तिर सामान्य ब्रेकफास्ट बाहेक केही नखाएको हुनाले भोकको डिग्री अलि बढिसकेकोले खाना मिठो लाग्यो । अक्सर सोधिन्छ नि भोक मिठो कि भोजन ? हामी सबैलाई भने त्यति बेला भोजन भन्दा भोक मिठो लाग्यो ।
अनि अगाडी बढ्यौं हामी । सिन्धुलीको बाटोको घुम्तिहरुसंग घुम्दै र कुमार दाईको चाखलाग्दा गफ संगै । रामेछाप पुगेपछि बिस्तारै हरियाली घट्दै गयो । नेपालका पहाडहरु त्यति सुख्खा, निरस अनि उराठ छन् भन्ने मलाई लाग्दैनथ्यो । पहाडमा रुखपात केही छैन । सडक पक्कि भए पनि धुलाम्मे । पानीको स्रोत, मुल कतै छैन । सदरमुकाम मन्थलीमा समेत त्यति रौनक देखिएन । उही सुख्खा र धुलाम्मे । सायद यो मौसम नै यस्तै भएर पो हो कि ?

Way up to the temple. Kuri Bazaar in the background !
अनि दोलखा लागेपछि फेरि सुरु भयो हरियाली । रसिलो । बढ्दाे चिसाे । र रफ्तार पनि बढ्दै गयो । किनकी हाम्रो बाटो अझै धेरै नै बांकि थिायो तर समय कम । बिस्तारै सांझ पर्दै थियो । हामी तामाकोशी पुग्दा करिव ५ बज्न आंटेको थियो । र त्यो उकालो पार गरी चरिकोट पुग्दा ६ । चरिकोटमा बास बस्ने हाम्रो योजना र मन दुबै थिएन । हामीले बाटोबाटै कालिन्चोक कुरीमा होटल बुक गरेका थियौं । होटल कन्ट्री भिल्लामा । एउटा डिलक्स रुम । तीनै जनाको लागि एउटा । कुमार दाईको सहयोगमा एउटा फोर ह्विलवाला बोलेरो जीपको व्यवस्था गरी हामी फेरि उकालो लाग्यौं । चरिकोटबाट कुरी । वे टु कालिन्चोक भगवति टेम्पल । बाटो १९ किमि । लाग्ने समय करिव २ घन्टा । बाटो कस्तो हुनुपर्छ यो अवस्थामा आफै अनुमान गर्नुस् । खाल्डाखुल्डी प्लस उकालो प्लस सार्प टर्निङ्ग्स् । बढ्दो उचाई भन्दा दोब्बर रफ्तारमा बढेको चिसो । कठ्यांग्रिने । नाक कान नै झर्ला जस्तो गरी । साथमा कलिला देखिने ड्राइवर भाइको प्लेलिस्ट । आउनु है घुम्न चरिकोट, घुमौंला भिमसेन थान र कालिन्चोक मन्दिर..... भावको लोकगित । गितले हामीलाई आमन्त्रण गरे जस्तै अनुभव भयो हामीलाई ।


हामी कुरी बजार पुग्दा ८ बज्नै आंटेको थियो । हो कुरी बजार । उचाई ३४०० मिटर । अन्दाजी तीस पैंतीस होटलहरुको क्लस्टर । त्यहां जति घर छन् सबै होटल । र बीचमा सबै भन्दा ठुलो होटल कन्ट्री भिल्ला । क्षमता ८० जना । म्याक्सीमम् । त्यही होटलमा बस्दै थियौं हामी तीन । हामी झर्ने बित्तिकै झिमिमिली, म्युजिक र मेलोडीको ब्लेन्ड कुरीको वातारणमा प्रष्टै अनुभव गर्न सकिन्थ्यो । साथमा त्यो माइनस डिग्रीको चिसोलाई च्यालेन्ज गर्दै धुवांको मुस्लो छोड्दै गरेका क्याम्प फायरका झुन्डहरु । र फोरिंदै गरेको स्वदेशी तथा विदेशी ब्रान्डहरु । भरिंदै रित्तिंदै गरेका गिलास र तोङ्गबाहरु । यो बातावरणले अलमस्ट फ्रोजन हामीहरुलाई आकर्षित नगर्ने कुरै भएन । हामी हाम्रो "डिलक्स" रुममा गयौं । "डिलक्स" यस कारण इन्भर्टेड कमामा कि यो नाम मात्रको "डिलक्स" थियो । रुममा छिर्ने बित्तीकै होटलवालाले आदेश दिए - "भोली विहानलाई पानी चाहिन्छ भने बाल्टीमा भरी राख्नुहोला नत्र माथी ट्यांकीको पानी जम्छ ।" हामी मुखामुख मात्र ग¥यौं । अनि आदेश पालना । त्यसपछि हामी त्यो वातावरणमा तुरुन्तै घुलमिल हुन आतुर थियौं । फ्रेस हुनलाई हातमुख सम्म पनि धुन सक्ने आंट थिएन हामीलाई । चिसोले गर्दा । हामी छि¥यौं त्यो ठुलो हलमा जहां बीचमा एउटा ठुलो फायसप्लेस थियो र वरिपरी ससाना टिन निर्मित अगेनाहरु । माउ जीवका वरिपरी झुम्मिएका बच्चाहरु जस्तै । माउ फायरप्लेस "अलरेडी प्याक्ड" थियो । उनीहरुको भाषामा "अलरेडी बुक्ड" । "रिजर्भड्" । हामी छेवैको एउटा बचेरो अंगनो समात्यौं । र सुरु ग¥यौं जाडोको औषधि । साथमा उही काठमाण्डुका ब्रोइलरका विभिन्न परिकार ।


बारको छेउको स्पिकरमा बजिरहेको च्याङ्वा ओइ च्याङ्वा गितमा नांच्नेहरुको भिडमा नर्तक नर्तकीको संख्या भन्दा वढी हाउभाउ र भावभंगी देख्न सकिन्थ्यो । कोही मायालु पाराले ज्यान मर्काउँदै थिए भने कोही अलि आक्रमक । हामी भने केवल हेरिरह्यौं । जाडोको औषधिको इफेक्ट नआउने बेलासम्म । गितहरु ननस्टप बज्न थाले अनेक खाले । नेपाली, हिन्दी हुंदै अंग्रेजी पनि । नाचगानको आलोपालो भइरह्यो । र अन्त तिर हाम्रो पालो र मुड दुवै आयो । हामी नाच्यौं । करिव १ घन्टा । ज्यानको तापक्रम ह्वात्तै बढ्यो । तर मन भरिएन । एक जना आफन्तको विवाहमा माइत गएकी मेरी श्रीमतीले कल गर्दाको माहोल ठ्याक्कै यही थियो । यो सबै कुरा सुनाइरहंदा उ भने ठुस्किरहेकी थिई किनकी उ नभएको मौका छोपेर म साथीहरुको साथ लागेर त्यो ठाउं गएको थिएं जुन उसको विस लिस्टको पहिलो नम्बरमा थियो । उसको ठुस्क्याई इर्ष्याले भरिएको थियो । तर जायज थियो ।
यही समय एउटा "अनाउन्समेन्ट" भयो । १० बजे किचेन बन्द हुने भएकोले खाना नखाएकोले खाइहाल्ने नत्र भोली ब्यानको ब्रेकफास्टमा मात्रै चित्त बुझाउनुपर्ने । हामी मनलाई कन्ट्रोल गरेर खाना खान गयौं । उही दाल भात, साग र ब्रोइलर । सायद सबै काठमान्डुकै बाटो हुंदै आएका । हामी जस्तै ।
Wefie
नियमानुसार खाना पछि रुम तिर गएर सिरक भित्र गुटमुटिनुपर्ने हामी फेरि हल भित्र छिर्दा मादल र गितारमा आफ्नो स्वर पौरख देखाइरहेका केही थान युवाहरुको झुन्डले हामीलाई तान्यो । उनीहरुले थप एक डेढ घन्टा रमाइलो गर्ने विशेषाधिकार पाएका रैछन् । हामीले ज्वाइन ग¥यौं । उनीहरु प्रोफेसनल्ली पनि गाना बजानामा नै आवद्ध रैछन् , काठमान्डुमा । संगै नाच्ने र गाउने प्रयास ग¥यौं । र जाडोको औषधिको थप एक डोज पनि । अच्छा रमाइलो भयो । र सांढे एघार बजे तिर हामी सहित सबै जना आ-आफ्नो गुफा तिर लाग्यौं । निद्रा लागिसकेको थियो । अनि भोलि विहानै उठेर जानु थियो एक घन्टा पैदल । कालिन्चोक भगवती टेम्पल । र हेर्नु थियो ३९०० मिटर माथिबाट सुर्योदय ।

त्यसैले, हामी सुत्यौं । तर अचानक म ब्युंझें । कसैले ब्युंझायो भनौं । इश्वर दाईले रैछ । मलाई लाग्यो विहान भएछ । सोचें अरु दिन जस्तै म आज यहां पनि ढिलै भएं । र मन्दिर जान हामी ढिला भयौं त्यसैले मलाई उठाइयो । तर कुरा त्यसो होइन रहेछ । घडीमा बल्ल १ बजेको थियो । इश्वर दाईलाई एक्कासी सास फुलेछ । हार्टबिट बढेछ । ३४०० मि. को हाईटमा पक्कै अल्टिच्युड सिकनेस हो भन्ने हामीलाई लाग्यो । तर के गर्ने हामीले तत्काल केही सोच्नै सकेनौं । उहां जति आत्तिनु भएको थियो, त्यो भन्दा बढी हामी आत्तियौं । हामीलाई छोड्न आएको गाडी पनि फर्किसकेको थियो । हामीलाई भोलि बिहानै पिकअप गर्न आउने गरी ( किनकी त्यस ठाउंमा डिजल गाडीहरुको फ्युल जमेर भोली बिहान स्टार्ट नहुने रैछ ) । मैले होटलको साहुजीलाई फोन गरें । लागेको थियो राति अवेरमात्रै सुतेको उसले फोन नउठाए के गर्ने ? तर पहिलो रिङ्गमा नै फोन उठ्यो । मैले सबै कुरा भन्न नपाउंदै उसले आधा घन्टा अघि मात्रै अर्को एक जोडीलाई पनि त्यही समस्या भएर चरिकोट लिएर गएको खबर दियो । अरु गाडी कुनै थिएनन्  त्यहां । हामी झन् आत्तियौं । मैले मेरो भाई ( जो डाक्टर छ ) लाई फोन गरेर सबै भनेपछि सकेसम्म छिटो तल झर्नुपर्ने अरु उपाय नभएको कुरा भयो । मैले पुनः होटल साहुजीलाई फोन गरेर जसरी भए पनि गाडी ल्याउनु प¥यो भनेपछि गाडी लिएर आउने तर १ घण्टा लाग्ने जानकारी दियो । हामीसंग कुर्नुबाहेक कुनै विकल्प थिएन । जाडोले गर्दा त्यस्तो भएको होला कि भनेर थप जाकेट र सिरक ओढेर बस्दा समेत ज्यान नताते पछि अघिकै हलमा गएर फायरप्लेसमा आगो सल्काएर आगो तापी बस्ने अनि गाडी आएपछि चरिकोट झर्ने भन्ने निर्णय ग¥यौं हामीले । गाडी कतिबेला आउला भन्ने आतुरी एकातिर र के होला भन्ने पिर अर्को तिर । हामीलाई निद्राले छर्लंगै छोड्यो । लसुनको पोटी चपाउंदै इश्वर दाई आगो नजीकै बस्नु भयो । सास फुलिनै रहेको थियो । मैले पनि त्यस्तै होला  कि भन्ने डरले "सिकानुभुति" नभएको भए तापनि दुई पोटी लसुन ग¥याम गुरुम चपाएं । केही छिनमा अचम्मै भयो । आगोको ताप बढ्दै गएपछि हो कि बन्द कोठाबाट बाहिर निस्केर खुला जस्तो ठाउंमा बसेको भएर हो इश्वर दाईको सास आफ्नो लाईनमा आएको र सजीलो अनुभुति भएको कुरा दाईले गर्नुभो । मन हलुंगो भयो । इश्वर दाईको अनुहारको कान्ति नै फेरियो । र हाम्रो अनुहारको पनि । गाडी आइपुग्यो १ घन्टामा । अहिले ठिक भएकोले तल झर्न आवश्यक भएन तर गाडी स्ट्यान्डबाई राखिराख्ने भन्ने सल्लाह गरी राति करिव सांढे दुई बजे हामी पुनः सुत्न गयौं । तर निद्रा लागेन । इश्वर दाई निदाए पछि भने कतिबेला निदाइएछ थाहै पाईएन । राती कुनै सपना देखिएन ।
हिउँ परेछ अागनमै...

ठाउं फरक भए पनि उही काठमान्डुमा बज्ने अलार्म बज्यो मेरो स्याउफोनमा । ठिक ५ बजे । अनि उठेर साथीहरुलाई पनि उठाई मन्दिर जाने तरखरमा ग¥यौं । तर इश्वर दाईलाई भने माथी जांदा अचानक गाह्रो हुन सक्ने हुनाले नजाने सल्लाह दियौं । दाई राजी हुनुभो । हामी बाहिर निस्कंदा ढोकैमा हिउंको थुप्रो थियो । र हावाको तापक्रमको कुरै नगरौं । सायद माइनस पांच/सात थियो कि ? हाम्रा नाक र कान पनि  चिस्सिएर माइनस् कति डिग्रीमा पुगेका थिए कुन्नि ? अनि मेरा अाेठहरु भने पर्पराइरहेका थिए । सायद राति चपाएकाे लसुनले पाे हाे कि ?

हामी उकालो लाग्यौं । हातमा पन्जा । स्वेटरमाथि ज्याकेट, मफ्लर र न्यानो टोपी । हामी सास नफुल्ने गरी विस्तारै हिंड्ने बिचार गरी सोही अनुसार हिंड्यौं । बाटोमा सयौंको भिड । बच्चा देखि बुढा सम्म । कोही विस्तारै कोही अलि स्पिडमा । आ-आफ्नै पारामा गफिंदै एक मानव क्यारावान उकालो लाग्यो कालिन्चोक भगवती टेम्पल तर्फ । बीच बाटोमा थाकेर वा सास फुलेर लमतन्न परेका केही थान मान्छेहरुलाई क्रस गर्दै हामी अगाडी बढ्यौं । वास्तवमा हामी यति अल्छि भइसकेका छौं कि हाम्रो स्टामिना अब लोककथाहरु मा सिमित हुन मात्रै बांकि छ । अनि बन्दै गरेको कुरी टु कालिन्चोक भगवती केबुलकारका पिलरहरुलाई पछाडी छोड्दै अगाडी बढ्दा लाग्यो अबका केही बर्षमा यसरी बाटैमा लमतन्न मान्छेहरु नदेखिएलान् । केवुलकार जो बन्ला । र हामी केही मिनेट ढिलो हिंड्नाले कालिन्चोक भगवती परिसरबाट हेर्ने भनिएको सुर्योदय यानेकी सनराइज बीचबाटो बाटै दर्शन गर्न बाध्य भयौं हामी । उकालाे बाटाेकाे दाया‌ँबायाँ र पाखामा कताकति गुराँसका रुखहरु । अहिले भने फुल्ने बेला नभएकाले केवल हरिया थिए त्यि रुखहरु । हामीले एक पल्ट कल्पना गर्याैँ याे डाँडै भरि सेताम्मे हिउँ परेकाे बेला ढकमक्क फुल्ने रङ्गिबिरङ्गी गुराँस कस्ताे देखिएला ? सेताे क्यानभासमा राताे रङ्ग पाेतिए जस्तै ?


हेर्दा नजीकै देखिए पनि पुग्न भने हामीलाई पुरा डेढ घण्टा लाग्यो हामीलाई । बाटो अत्यन्त खतराटुप्पोमा पुग्ने बेलामा । भिरमा खोपिएको सांघुरो गोरेटोमा छेउमा फलामे ग्रिलले फराकिलो बनाइएको । भिरमा झन्ड्याइएको झोलुंगे पुल जस्तो लाग्ने । र खोल्सा तर्न त्यस्तै खाले फलामे पाताहरु ठड्याएर र तेर्साएर बनाइएका कत्ति भर नलाग्ने पुलहरु ।


फाइनल्ली मन्दिर परिसर पुगियो । कालिन्चोक भगवती मन्दिर । एउटा लिटरल्ली चुच्चो चुचुरोको चुच्चाेमै अवस्थित । सांघुरो परिसरको क्षेत्रफल मेरो अनुमानमा सायद बीस पच्चिस बर्ग मिटर थियो कि ? हामीले एकै छिन त्यहां वरिपरिको दृश्यावलोकन ग¥यौं । रोलवालिंग हिमाल अन्तर्गतको गौरीशंकर हिमाल र मेलुंगत्से हिमाल लगायतका अन्य मनमोहक हिमालहरुको लहर त्यही पल्लो डांडामा देखिए । पहिलो झुल्को घामको स्पर्सले पोतेको गोल्डेन रोकन सहित । र त्यी हिमालका खोंच र उपत्याकामा देखिएका बादलका पोखरीहरु को दृश्यले मोहित नहुने को पो थियो होला र ? सांच्चिकै हामी बादल भन्दा माथि र क्षितिज भन्दा पर पुगेको अनुभुति भयो मलाई । 
The pond of clouds.

केही थान सेल्फी, वीफी र सिंगल, डबल फोटाहरु खिचेपछि हामी मन्दिर दर्शन गर्न लाग्यौं । मन प्रसन्न भयो । शरिरमा छुट्टै उर्जा सञ्चार भएजस्तो लाग्यो । खासै मन्दिर गएर पुजापाठ नगर्ने मैले पनि विधिपूर्वक नै पुजा गरें टिका ग्रहण गरीवरी हामी तल झर्न थाल्यौं उही उकालोको ओरालो । सम्हालिएर हिंड्नुपर्ने । बाटोछेवै बेच्न राखिएका स्थानीय छुर्पी र जडिबुटी औषधी (नाम बिर्सेँ) किनेर हामी सरासर तल झ¥यौं । बाटोमा दुई चार थान सेल्फी त बन्ता हि है, हैन ?
The way up, the challenge !
हामी होटल फर्किंदा ८ बजिसकेको थियो । इश्वर दाई उठिवरी बाहिर निस्की सक्नु भएको रैछ । फ्रेस नै देखिनुभयो । खुसी लाग्यो । मन्दिर पुग्न नपाए पनि ब्याकग्राउन्डमा मन्दिर शिरमा लिएर उभिएको डांडोलाई पारी केही थान सिंगल र केही थान ग्रुपमा फोटाहरु खिचेपछि हामी ब्रेकफास्ट खाएर तल झर्न गाडी चढ्दा घडीले साढे नौ बजाइसकेको थियो । हामी चरिकोट पुग्दा सांढे दस । हामीलाई कुमार दाई कुरिरहनु भएको रहेछ । चरिकोट टुंडिखेल छेवैमा । हामी दोलखा पुगेको बेलामा दोलखा भिमसेन ( जसलाई देशमा अनिष्ट हुन लागेको बेलामा पसिना छुट्छ भन्ने विश्वास गरिन्छ ) को दर्शन गर्ने मौका गुमाउन चाहन्नथ्यौं । त्यसैले कत्ति ढिला नगरी हामी दोलखा भिमसेन तिर हानियौं । त्यस्तै १५/२० मिनेटको बाटो ( वे टु लामाबगर जहां माथिल्लो तामाकोशी हाइड्रोइलेक्ट्रिसिटी प्रोजेक्ट बन्दै छ ) । अनि अलिकति ओरालो । र त्यसपछि भिमसेन मन्दिर । माइनस तापक्रमबाट झरेका हामीलाई त्यो थोरै हिंडाईमा पनि गर्मी अनुभव हुन थालिसकेको थियो । दोलखा भिमसेनलाई पसिना कहिले आउला त्यो त थाहा थिएन तर हामीलाई भने पसिना छुट्न थालिसकेको थियो । मन्दिरमा लाइन बसी दर्शन गर्न लामै समय कुर्नुप¥यो । के रहेछ भनी बुझ्दा त एक परिवार मन्दिरै रिजर्भ गरेझैं गरी पुजा गर्दै रैछन् । हामीलाई यसो दर्शनमात्र गर्न दिनु भनी रिक्वेस्ट गर्दा एक छिन - एक छिन भन्दै करिव आधा घन्टा कुराएर नै छाडे । जे होस् पहिलो पटक भिमसेनको दर्शन गरियो । धन्य भइयो । भिमसेनलाइ घरिघरि पसिना नआवोस् भन्ने कामना, साथमा देशमा अनिष्ट नहोस् भन्ने आशा ।
Prayer Flags , Bells and Trishuls of Faith at Kalinchowk


अनि हामी ओरालो लाग्यौं उही हिजोकै बाटो । हामीलाई भोक लागिसकेको थियो । तर अलि लोकल र अर्ग्यानिक खाना खान तामाकोशी नै पुग्ने सल्लाह गरी हिंड्दा तामाकोशी कहिले आउला भन्ने कुरा सायद हामी सबैको मनमा सबैभन्दा वढि आयो कि मेरो मनमा जस्तै । भोक जो लागेको थियो । बेस्मारी । बाटोमै फिजारेर बाटोमा ओहोरदोहोर गाडी हरुलाई कुल्च्याएर कोदो माडेको नौलो दृश्य पनि देखियो । अचम्म लाग्यो तर डर पनि किनकी दुई पांग्रे साधनहरु कोदोमा चिप्लिएर दुर्घटना पनि प्राय हुने गरेको छ रे । हामी तामाकोशी पुग्यौं । खाना खायौं, हिजैको डिस । खाना सेट विथ फिस करी । मिठो भयो । यस पाली पनि मिठो भोक कि भोजन भन्ने ठम्याउन गाह्रो भयो । तर तृप्त भइयो । बाटोमा उही उराठ मन्थली, धुलाम्मे बाटो । तर एकै छिनमा सिन्धुली पुगियो । बाटोमा एकछिन भने भाते निद्रा लागेरै छाड्यो मलाई । अनि सिन्धुलीकै सडक छेउ एउटा होटलमा "लोकल" भनिएको कुखुराको मासु सहितको खाजा खाएर भक्तपुर आइपुग्दा एक घन्टे जाममा परियो । केही दुर्घटना पो भएछ कि भन्ने सोचेका हामीलाई एक घन्टा पश्चात बाटो खुल्दा केही नभएको तर ट्राफिक प्रहरीले व्यवस्थापन गर्दा गर्दै यति जाम भएको थाहा भएपछि कुमार दाईले भने जस्तै प्रहरीले झन् जाम मात्रै बढाउने कुरा हो कि झैं लाग्यो । हामी काठमान्डु छिर्दा ८ बजिसकेको थियो । यो खाल्टोको तीनतिर बस्ने हामीहरु मध्ये अन्तिममा झर्ने पालो मेरो थियो । कुमार दाईले कुनै दुःख नमानी एक्स्ट्रा एक घन्टा काठमान्डु चक्कर लाइदिनाले हामी सबै सकुसल र सहज तरिकाले आ-आफ्नो निवास पुग्यौं । म पुग्दा त्यस्तै ९ बजिसकेको थियो । घरमा एक्लै भएको हुनाले खाना बनाएर खाने जांगर चलेन पनि र ढिलो खाजा खाएकोले खाना खान मन पनि लागेकाे थिएन । बरु थकान पखाल्न एक सावर र मनभरी पुरा दुई दिनका स्मृतिहरु लिएर बेडमा पल्टने बित्तिकै कति बेला निदाएछु पत्तो भएन । यो रात भने गजबको सपना देखें । उही भ्रमण । उही ठाउं । उही साथीहरु । बिहान उठ्दा गोडाहरु भने दुखिरहेका थिए तै पनि रमाइलै  लाग्यो । वास्तवमा सपनाको भ्रमण भन्दा विपनाकै भ्रमण सुन्दर लाग्यो ।

Comments