|
Hikers - Left to Right : Umesh , Kamal, Surya and Ishwor
काठमाण्डु आए देखि जिवन
यसै अलमल अलमल भईरहेको महशुस भएको छ । तर कहां थाहा छैन । एकातिर नयां ठाउंमा
भौतिक र मानसिक रुपमा सेटल हुन समय लाग्नु स्वभाविक पनि लागेको छ भने अर्कातिर समय
अलि अस्वभाविक रुपमा बढी लागेको अनुभुति भएको छ । साथीभाई संगको भेटघाट, घुमघाम रमाइलोको कुरा त आजकल शुन्यप्रायः नै
भएको छ भन्दा फरक पर्दैन । यही कारणले गर्दा मलाई बितेका वर्षहरु अझ बढी मिस हुने
गरेका छन् ।
|
|
Greenery Around.... - Shivapuri National Park |
यही अत्यास अलि अलि
भए पनि कम गर्नका लागि हामी ५ / ६ जना जागिरका ब्याचमेट्स यसो काठमाण्डु आसपास हाइकिंग जाने
योजना तयार भयो । गत शुक्रबार, अचानक । अन्तमा हामी ४ जना जाने निधो गरियो । कमल,
इश्वर, उमेश र म । यात्रा सुरु भयो शनिबार बिहान ६ बजे बाट नै । चावहिलमा ७ बजे भेटी सुन्दरीजल
पुग्न आधा घण्टा लाग्यो । अनि अर्को आधा घण्टा बिहानको खाजा, ब्रेकफास्ट टाइम - जेरी, पुरी, समोस र तरकारी । अनि ब्यवस्था त गर्नै पर्यो अलिकति डिस्टिल्ड,
ब्य्रुड र प्लेन पानी यानेकी ड्रिंक्स् र चिप्स् । केहि फलफुल लगायत अन्य आवश्यक चिजविज खरिद संगै हाम्रो हाइकिंग सुरु भयो
यस्तै सवा आठ बजेतिर । कमलको साथमा रहेको एक थान प्रिन्टेड नक्साबाहेक हामीसंग
अर्को गाइड थिएन, त्यो रुटको ।
हामीलाई विश्वास थियो हामी त्यही एक थान "नन लिभिंग" गाइडको भरमा काठमाण्डुबाट देखिने शिवपुरीकाे पाखो
पल्तिरको बाटो सजिलै छिचोली ७ / ८ घण्टाको हिंडाइमा बेलुकासम्म बुढानिलकण्ठ
पुग्नेछौं ।
धेरै लामो समय पछाडीको
आउटिंग भनौं या हाइकिंग,
भएको हुनाले रोमाञ्चकता
स्वभाविक रुपमा वढी नै थियो,
हामी सबै जनाको ।
काठमाण्डुको धुलाम्य हावा इनहेल गरिरहेको हाम्रो फोक्सो समेत खुसी भएर जति सक्दो
धेरै र छिटो स्वास लिइरहेको छ कि भन्ने भान मलाई भयो,
सायद हामी सबैलाई । त्यही कारणले फुरुंग हुंदै अगाडी बढ्यौं
हामी । साथमा रमाइला साथीहरुको रमाइला गफ भएपछि झनै एडिसनल रमाइलो त हुने नै भयो । काठमाण्डुको पट्यार आधा घटेको
अनुभव हामीलाई एकाध घण्टा हिंड्दैमा भइसकेको थियो । हामीलाई प्राप्त पूर्व जानकारी
अनुसार हाम्रो बिहानको खाना सुन्दरीजलबाट केहि घण्टा हिंडेपछी आउने पहिलो होटल,
कर्माको होटलमा खाने प्लान थियो । तर हिंड्नु
अगाडी नै हेभी ब्रेकफास्ट खाएर हिंडेका हामीहरुलाई डेढ दुई घण्टा हिंडेर सुन्दरीजल हाइड्रोको जलासय पार गरी त्यस ठाउंमा
पुग्दा खाना खाइहाल्ने मुड हामी कसैको थिएन । भोक लागेको अनुभव थिएन । त्यसैले अरु २ घण्टापछी अगाडी कुनै अर्कै
ठाउंमा खाना खाने एक सुत्रिय निर्णय गरी हामी अगाडी बढ्यौं ।
ठाउंठाउंमा फोटो सेसन,
अनि उही रमाइला गफलाई अझ रमाइलो बनाउने केहि
थान जोक्स । त्यसमा पनि त्यो सुन्दरीजलमा खरिद गरी हिंडेको हरियो क्यानको ब्य्रुड
जिनिस हामीसंगको सहयात्रामा जोडिए ।
|
टाेली इन हाइक...... |
यस्तो यात्रामा कसैलाई खाना र ड्रिंक्स दुबै
हिसाबले भेज हुनु त्यती रमाइलो अनुभव हुन्छ होला जस्तो
लाग्दैन मलाई । ड्रिंक्स मात्र भेज कमललाई पनि सायद त्यस्तै अनुभव भयो की ?
हामी शिवपुरी बन्यजन्तु आरक्षको बिचबाटै बनेको
एक लेनको मोटरबाटो,
जहां हाम्रो यात्रा
अवधिभर केहि थान मोटरसाइकलमात्र भेटिए,
हुंदै अगाडी बढ्यौं र पुग्यौं एउटा गाउंमा,
नाम सायद ओख्रेनी थियो त्यो गाउंको । बल्ल भोक लागेको हो की
भन्ने अनुभव भयो हामीलाई । केहि थान साना चियादोकान हरुमा खानाको बारेमा सोधेपछि
भेटियो खाना खुवाउने होटल । काइंला दाइको होटल । मकैबारीको पाखोको बिचमा सडक छेवै
उभिएको एकतले घर जहांबाट हामीले हाइक सुरु गरेको सुन्दरीजलको अस्पष्ट चित्र प्रष्ट
देखिन्थ्यो । बारीमा मकै गोड्दै गरेका काइंला दाई र भाउजुलाई बोलाएर खानाको अर्डर
दियौं ।
|
काइली दिदी , Hotel owner ; who prepared organic meal for us. |
हामीले लोकल कुखुराको झोलसंग खाना खान पाइन्छ कि भन्ने आशा गरेका थियौं तर
फेला पर्यो कोइलर । लोकल भन्दा तल ब्रोइलर भन्दा माथिको मानिने आधा बिकासे कुखुरो
। र त्यसैसंग खायौं खाना,
भुकम्पकाे धक्काले चिरिएको काइंलादाईको होटलको आंगन छेवैमा
राखिएको बेञ्चीमा बसेर । र संगै थपियो केहि थान हरियो बोटल्ड र ब्य्रुड जिनिस पनि
। तृप्त भइयो । बाटो सोध्यौं । पल्लो डांडा तिर औंल्याएर हामीलाई बुढानिलकण्ठै
पुग्ने बाटो देखाइदिए काइंलादाईले । एक बजे तिर हामी निस्क्यौं त्यहांबाट । सकेसम्म मोटरबाटो छलेर
छोटो बाटो हिंड्ने र काठमाण्डु जिल्लै भित्र भए पनि अलि परै कतै गएको एक्जोटिक
फिलिंग अवोस् भनेर हामी मुलबाटो छोडेर हिंड्न थाल्यौं । ग्रुपमा अलि सिनियर इश्वर
दाजुले त्यही प्रसंगमा भन्नुभो - "मुलबाटो फेरो नभन्नु,
सौतालाई मेरो नभन्नु ।" हामीलाई हांसो लाग्यो । र प्रासंगिक
पनि । तर आधाबाटो काटिसकेका हामीलाई ओवरकन्फिडेन्स आइसकेको थियो अब जताबाट गए पनि
मुलबाटो छुट्दैन भन्ने । जब हामी दाेबाटाेमा पुग्याैं , मलाई अमेरीकी रोमान्टिक पोयट Robert Frost काे एउटा पपुलर पंक्ति Two roads diverged in
a wood, and I – I took the one less traveled by, and that has made all the
difference याद अायाे । त्यसैले सांघुराे र छोटोबाटो नै हामीले रोज्यौं ।
बाटोमा कान्ला माथि र कान्ला मुनी लटरम्म पाकेका ऐंसेलुले हामीलाई नतान्ने कुरै
भएन । हामी ऐंसेलु खांदै,
गाउंघरका गफ गर्दै,
कहिले बाल्यकाल त कहिले बर्तमानमा रमाउंदै
अगाडी बढ्यौं ।
बाल्यकालमा यस्तै बनजंगल भिरपाखामा गोठालो भइ हिंडेका हामीलाई बाटो
बिराइएला भन्ने एक रति पनि थिएन । गाईबस्तुकै गोबर र खुरको छाप पछ्याउंदै भए पनि
बस्ति वा मुलबाटो पत्ता लगाइन्छ भन्ने Over Confidence नै थियो हामीमा । गोरेटो
बाटो सांघुरिंदै गएपछि बल्ल हामी झसंग भयौं । तर बाटो घना बुट्यान बिचमा नै भए पनि केहि वर्ष अगाडी देखि मात्रै बांझो
छोडिएका जस्तो देखिने बारीका गरा र भर्खरै गाइभैंसी चरेर फर्के जस्तो देखिने
गोरेटो भएकोले हामी ठिक बाटोमा नै भएको निर्क्रयाैल गदै अगाडी बढ्यौं । जति हिंड्यो
उति अनकन्टार बाटो आउंथ्यो । जंगलमा झ्याउंकिरी देखि अन्य अनौठा जनावरको आवाजहरु
सुनिन थालेपछि र एउटा ओडार परेको खोल्सामा गएर बाटो सकिएपछि हामी २ घण्टा
भन्दा वढी निरन्तर हिंडेको उकालो र अप्ठ्यारो बाटो गलत भएको थाहा भयो । मनमा
एक्कासी डरानुभुति भयो । अरु कस्तो अनुभव भयो होला केवल कल्पना गर्न सक्छु म,
अहिले पनि । हुन पनि हामी यस्तो ठाउंमा थियौं कि एउटा खोल्सोमा पानी बगेको
आवाज मात्र थियाे,
खोल्सो वारीपारी भर्खरै
जोते जस्तो गरी माटो उकारिएको थियो,
माथि पट्टि बडेमानको ढुंगा जसले तल उभिंदा छानो को नै काम गथ्र्यो । त्यो एक
किसिमको गुफा नै थियो । गुफा भित्र एउटा ठाडो ढुंगालाई देउता बनाइ पुजिएको
अंध्यारोमा अस्पष्ट देखिन्थ्यो । र अगाडी Dead End, हामी अगाडी बढ्न सकेनौं । यसै
अंध्यारो त्यस ठाउंमा पुगेपछि,
एक्कासी झनै अंध्यारो
छायो,
मनमा र बातावरणमा पनि,
सांझै परे जस्तो । घडी हेरें ४ बजिसकेको रहेछ ।
अघिसम्मको सबै रमाइलो,
ठट्टा सबै साम्य भयो ।
हाम्रो ओवर कन्फिडेन्स Over Fear भएर मनभरि छायो सबैकाे, सायद
छिटै नउत्रने गरी । हामीले फर्कनुको बिकल्प पाएनौं । र अबाउट टर्न ।
फर्कंदा हामी अलि हतारमा
थियौं । एक ओरालोबाटो । र अर्को बेलुकाको ४ बजिसकेकोले बन भित्रै छंदा रात पर्ला,
पानी पर्ला भन्ने भयंकर डरलाग्दो कल्पना । अघि
जांदा सुनिएका नर्मल लागेका सबै आवाजहरु बाटो दुबैतिर जोते जस्तै गरी खनेका जंगली
बंदेलको जस्तो लाग्न थाल्यो । झाडीबाट आएको "क्याटी" गन्ध ठ्याक्कै चितुवा अथवा (
बाघ? ) को जस्तोे । हाम्रो स्पीड
नजानिंदो तरिकाले बढ्यो निरन्तर । बाटो नाप्नको लागि हामीले अघि जांदा देखेका
बुट्यान, ऐंसेलुमा झ्यांग, खोल्सो, ढुंगो आदि ख्याल गर्यौं, याद भए सम्म । बाटैभरी हामीलाई इश्वर दाजुको त्यही भनाईमा
हांसेको प्रति आत्मग्लानी भयो । हामीले मुल बाटो फेरो भन्नाले नै हामीले बाटो
बिरायौं र अब हाम्रो गन्तव्यमा पुगिन्छ भन्ने हामीलाई झिनो आशा बाहेक अरु केहि बांकि रहेन ।
जांदा लागेको समय भन्दा आधा एक घण्टा कम समयमा नै हामीले बाटो काट्यौं , फर्कंदा । फर्किसकेपछि त्यहांका स्थानिय संग
बाटो बिराएको गफ भएपछि उनीहरुको फरक फरक मत देखियो । कोही भन्थे त्यो ठाउं
बागद्धार थियो, बागमतीको मुहान । अलि
अगाडी बढेको भए बुद्धीस्टको ध्यान केन्द्र आउंथ्यो अनि मुलबाटो । कोही भन्थे त्यो
जंगल जंगली जनावरको घर नै थियो धन्न बांचेर आउनुभएछ । हामीले चितुवा सम्झ्यौं ।
हामीले बंदेल सम्झ्यौं । भालु सम्झ्यौं । अनि सम्झ्यौं हामीले सुनेका सबै खतरनाक
जंगली जनावरहरु जसको पञ्जाबाट फुत्केर आएका उृनीहरूका सम्भावित सिकार थियौं हामी । हामी धन्य
भयौं त्यी जनावरहरु प्रति, हामीलाई अडियो (आवाज)
मात्रै सुनाएर भिजुअल्ली हाम्रा अगाडी नआइदिएकोमा । तब हामीले फेरी सम्झ्यौं "मुल बाटो फेरो
नभन्नु........" र बहादुरी पूर्वक फर्केकोमा लामो सास फेर्यौं ।
|
झरनाकाे चिसाे पानी...... |
घडीले ५ बजाइसकेको
अबस्थामा फेरि हाम्रो डेस्टिनेसन बुढानिलकण्ठ पुग्ने साहस हामीमा थिएन । किनकी
एकातिर समय घर्किसकेको थियो भने अर्कातिर हामी शारिरिक तथा मानसिक रुपमा समेत थकित
भएका थियौं । यति सम्म कि अब त्यो हामीले खाना खाएको होटलमा आइपुगेपछि सोही बाटो
फर्कने गाडी पाए आजै नत्र आज त्यहीं बसेर भाेलि बिहान मात्रै फर्कने भन्ने निर्णयमा एकमतले पुग्यौं ।
सौभाग्यबस, एउटा जिप पाइयो तर एक घण्टा कुर्नुपर्ने भयो । हामीले यात्राको
समिक्षा गर्यौं । हामी हाइकिंग आएका थियौं हिंडाइको हिसाबले गज्जब भयो,
थाकिने गरी हिंड्यौं,
यो हिसाबमा हामी सफल भयौं । हाम्रो गन्तव्य बुढानिलकण्ठ
थियो,
बिचबाटोबाटै फर्कनु पर्यो,
यो हिसाबमा हामी फेल भयौं
। बाटोको रमाइलो,
गफसफ,
स्वच्छ शितल हावा र बिदाको सदुपयोगको हिसाबमा
हामी सफल भयौं । यस्तै यस्तै समिक्षा भए आपसमा र सबैको मन भित्र सायद ।
|
मूल बाटाे :D |
फाइनल्ली गाडी आयो ।
सांढे सात बजे । प्रत्येक जनाकाे करिव करिव दाेब्बर भाडा तिर्ने शर्तमा हामी निस्क्यौं । अलि चुपचाप , जांदा भन्दा । मन भने चुप थिएन ।
अनेक कुरा खेलिरहे । मनले समिक्ष गरिरह्यो,
आजको यात्रा । मन एकै मेसोमा रोमाञ्चित र दुखि भइरह्यो
। त्यो यात्रा हृदय भित्र नै बसिरह्यो
अमिट भएर । सायद जिवन भरका लागि ।
र घर पुगेर सबै कहानी श्रीमतिलाइ सुनाउंदा उनले पत्याउने कुरै भएन । त्यस रात सपनामा पनि देखें मैले त्यो भन्दा पनि घना
जंगलमा हराएको, हावाहुरी सहित घनघोर वर्षात भएको, जनावरले घेरिएकाे अवस्थामा त्यहांबाट फुत्किएर बाटाे पहिल्याएर भाग्न अनेक जुक्ति
लगाइरहेको । तर बाटो पहिल्याउनु भन्दा अगाडी नै ब्युंझे । मनमनै डर मिश्रित हांसो
आयो । मनभित्र त्यही भनाइ आइ रह्यो "मुलबाटो फेरो नभन्नु ...... !"
Comments
Post a Comment